चितवन । चितवनको रत्ननगर नगरपालिकाले प्रशंसनीय निर्णय गरेको छ । नगरपालकाले नगरवासीलाई क्यान्सरको उपचारमा २५ हजार थप सहयोग गर्ने भएको छ ।

क्यान्सरपीडित बिरामीलाई सङ्घ सरकारले एक लाख र प्रदेश सरकारले ५० हजार दिँदै आएको छ । अब रत्ननगर नगरपालिकाले पनि थप २५ हजार दिने निर्णय गरेको छ । यो निर्णय यही वैशाख १ गतेबाट लागू गरिएको हो ।
नगरप्रमुख प्रल्हाद सापकोटाले भन्नुभयो, ‘क्यान्सर रोग पीडितको उपचारका लागि सहयोग स्वरुप २५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको छ। रत्ननगर नगरपालिकाको चैत ३० गते बसेको विशेष नगरसभाबाट वैशाख १ देखि लागू हुने गरी २५,००० रुपैया उपचार सहुलियत दिने निर्णय गरिएको सम्पूर्ण नगरबासी आमाबुवा दाजुभाइ दिदीबहिनीहरुमा जानकारी गराउँदछु।’
रत्ननगर नगरपालिकाको विशेष नगरसभाले क्यान्सरपीडितलाई सामाजिक उत्तरदायित्व अन्तर्गत २५ हजार सहयोग उपलब्ध गराउने घोषणा गरिएको हो।
उहाँले छिट्टै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरसँग सहयोगसम्बन्धी सम्झौता गरिने बताए। सङ्घ र प्रदेश सरकारबाट खर्च लिइसकेपछि नगरपालिकाले सहयोग रकम उपलब्ध गराउने छ ।
“क्यान्सर भन्ने बित्तिकै पीडादायिक रोग बुझिन्छ हाम्रो पालिकाभित्र कयौँ व्यक्ति क्यान्सरको पीडामा हुनुहुन्छ”, उहाँले भन्नुभयो, “उहाँहरुको उपचारका लागि पालिकाबाट सहुलियत होस् भनी यसको सुरुवात गरिएको हो ।”
हाल रत्नगरका दुई सय सातजना क्यान्सरका बिरामी उपचाररत रहेको नगरपालिकाले जनाएको छ ।


