काठमाडौँ : सशस्त्र प्रहरी परिवार महिला संघको २३औँ वार्षिकोत्सवको अवसरमा आज असार ८ गते काठमाडौँमा आयोजना गरिएको ‘दोश्रो महिला हाफ म्याराथन प्रतियोगिता २०८१’ को उपाधि नेपाल पुलिस क्लवकी राजपुरा पछाईले हात पार्नुभएको छ ।

उहाँले निर्धारित २१.०९८ किमीको दुरी १ घण्टा १९ मिनेटमा पूरा गरी प्रथम हुनुभएको हो । प्रतियोगितामा प्रथम हुने नेपाल पुलिस क्लवकी राजपुरा पछाईले १ लाख रुपैयाँ प्राप्त गर्नुभयो ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकबाट शुरु भई बालाजु चोक, नयाँ बसपार्क, बसुन्धारा, महाराजगञ्ज चोकलाई दायाँ पार्दै त्रिवि. शिक्षण अस्पताल, लैनचौर, जमल, घण्टाघर, शहिदगेट, त्रिपुरेश्वर, टेकु, कालिमाटी, रविभवन, कलंकी हुँदै एपीएफ रंगशाला हलचोकमा पुगेर दौड समापन भएको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उद्घाटन गर्नुभएको प्रतियोगितामा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रिय अध्यक्ष अनिता लामिछाने अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, महिला संघका पदाधिकारीहरु, लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानहरुको समेत उपस्थितिमा कार्यक्रम भएको हो ।
उक्त प्रतियोगितामा दोश्रो हुने नेपाल पुलिस क्लवकी राममाया बुढाले १ घण्टा २३ मिनेट १० सेकेण्डमा निर्धारित दुरी पार गरी रु ७५ हजार रुपैयाँ तथा तेस्रो हुने नेपाल एपीएफ क्लवकी पुष्पा भण्डारीले १ घण्टा २५ मिनेट ४५ सेकेण्डमा पार गरी रु ५० हजार रुपैयाँ जित्नुभएको छ ।
उपाधी हासिल गर्ने धावकहरुलाई यही असार १७ गते सोमवार वार्षिकोत्सवमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता, डिआइजी कुमार न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार चौथोदेखि दशौँ स्थान हासिल गरेका धावकहरुलाई आजै पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगितमा त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, नेपाल एपीएफ क्लवलगायत सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरु तथा देशैभरका महिला धावकहरुको सहभागिता रहेको थियो ।
आजै सम्पन्न ‘प्रथम महिला हाफ म्याराथन प्रतियोगिता २०८१’ मा दीपा परियार प्रथम, लिला राई दोश्रो र रिना माझी तेस्रो हुनुभएको छ । उहाँहरुलाई सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्यालले पुरस्कार, मेडल र प्रमाणत्र प्रदान गर्नुभएको थियो ।