काठमाडौँ । राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न निकायको सहयोगमा अपाङ्गता समावेशी विपद् जोखिम न्यूनीकरणको अनलाइन स्वअध्ययन (इ–लर्निङ) पाठ्यक्रम विकास गरेको छ ।

उक्त स्व–अध्ययन सामग्री अपाङ्गता भएका व्यक्तिहरुका साथै यससम्बन्धी नीति निर्माता र अभ्यासकर्ताहरुलाई पनि उपयोगी हुने प्राधिकरणले जनाएको छ ।
यस अध्ययन सामग्रीले अपाङ्गता भएका नागरिकलाई पूर्वतयारी, प्रतिकार्य तथा पुनस्थापनाका लागि चनाखो तथा सचेत बनाउन सहयोग गर्ने प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।
जापान सरकारको आर्थिक सहयोगमा युएनइस्क्याप र प्राधिकरणको नेतृत्वमा तयार गरिएको हो । पाठ्यक्रम विकासको प्राविधिक पक्षमा युथ इनोभेसन ल्याबले काम गरेको थियो । प्राधिकरणको अनलाइन स्वअध्ययन वेबसाइट https://elearning.ndrrma.gov.np/login/index.php मा सामग्री उपलब्ध छ ।
इच्छुकले त्यहाँ लगइन गरी अध्ययन पश्चात अन्तिममा भएका प्रश्नहरु जवाफ दिई उत्तीर्ण प्रमाणपत्र हासिल गर्न सक्नेछन् ।
यो वेवसाइटमा विपद् जोखिम न्यूनिकरण र व्यवस्थापनको परिचयात्मक, विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापनमा लैंगिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण, बाढी र वन डढेलो जोखिम न्यूनिकरण तथा व्यवस्थापनका अलगअलग पाठ्यक्रमहरु उपलब्ध रहेका छन्।
प्राधिकरणका प्रवक्ता, उपसचिव डा डिजन भट्टराईले यसबाट विपदमा अपाङ्गता भएका मान्छेहरुको विषयमा आम जनतालाई बुझाउन, विपदमा अपाङ्गता भएकाहरुको ज्ञान सीपको उपयोग र उनीहरुको महत्व तथा उनीहरुको उद्धारका विषयबारे जानकारी लिन सकिने छ ।



उहाँले भन्नुभयो, “विपदमा अपाङ्गता भएकाहरु बढी प्रभावित हुन्छन् । त्यस सन्दर्भमा पहिलो त संरचनालाई अपाङ्गमैत्री कसरी बनाउन सकिन्छ ? कस्ता सामानहरु जरुरी पर्छ ? रेस्क्यु गर्दा कसरी गर्ने लगायत विषय समावेश गरिएको छ । एकपदम प्रभावकारी छ ।”
प्राधिकरणका वातावरण निरीक्षक तथा उक्त कार्यक्रमकी श्रोतव्यक्ति रिना चौधरीले प्राधिकरणको विद्युतीय सिकाईमा नीति, नियममा अपाङ्गता भएकाहरुका लागि गर्नुपर्ने व्यवस्थाका विषयमा असल अभ्यासका रुपमा यो पाठ्यक्रम विकास गरिएको बताउनुभयो ।
उहाँका अनुसार यो पाठ्यक्रम सरल भाषाका साथै र समावेश बनाउनका लागि सांकेतिक भाषाको समेत प्रयोग गरिएको छ । प्रश्नोत्तरको व्यवस्था पनि रहेको छ । यसबाट पास भएमा प्रमाणपत्रसमेत प्राप्त गर्न सकिन्छ ।
“यो मोडलले विद्यार्थी वर्ग तथा नीति, निर्माताहरुमा सहयोग पुर्याउने विश्वास छ । विपद भन्ने कुरा प्राविधिक विषय मात्रै होइन, आममानव जोखिमको पनि कुरा पनि आउँछ भनेर यसबाट थाहा पाउन सकिन्छ”, उहाँले भन्नुभयो, “विपदमा अपाङ्गता भएका व्यक्तिहरु बढी प्रभावित हुने भएकाले उहाँहरुलाई पनि नीति निर्माणका योजनामा सँगसँगै लैजानुपर्छ । उहाँहरुलाई समावेश गरी योजना बनाउँदा थप प्रभावकारी हुन्छ । यी सिकाइहरु त्यसमा प्राप्त गर्न सकिन्छ ।”
प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले स्थानीय तहदेखि हरेक क्षेत्रमा यो पाठ्यक्रम बुझाउन सके थप प्रभावकारी हुने बताउनुभयो ।