काठमाडौँ : सञ्चालकहरुकै मिलेमतोमा २२ हजार सहकारी कचतकर्ताका झण्डै ६ अर्ब बढी रकम हिनामिना गरिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी गरेको अभियोगमा एक सहकारीका अध्यक्षसहित ४ जनालाई पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका–३ पुल्चोकस्थित लालीगुराँस सहकारी संस्थामा रहेको बचतकर्ताहरूको निक्षेप अपचलन गरी हिनामिना गरेको आरोपमा संंस्थाका अध्यक्ष काठमाडौँ महानगरपालिका–१३ घर भई सोही महानरपालिका–४ चुनदेवी बस्ने ७६ वर्षीय अमरदास श्रेष्ठसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा संस्थाका सचिव एवम् प्रमुख कार्यकारी अधिकृत गोरखा सिरानचोक गाउँपालिका–२ घर भई ललितपुर भैँसेपाटी बस्ने ४६ वर्षीय सुरेन्द्र भण्डारी, संस्थाका कोषाध्यक्ष काठमाडौँ महानगरपालिका–२ लाजिम्पाट बस्ने ७५ वर्षीय अमृतकुमार अर्याल र संस्थाका सदस्य ललितपुर महानगरपालिका–११ घर भई काठमाडौँ महानगरपालिका–६ चावहिल बस्ने ६१ वर्षीया कदमबाबा जोशी प्रधान पनि रहेका छन् ।
उनीहरूले आकर्षक ब्याज दिने र चाहिएको बखत जम्मा भएको रकम झिक्न मिल्ने भनी विश्वास दिलाई सञ्चालकहरूलाई लाभ र बचतकर्तालाई हानी पुग्ने गरी बचतकर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त सहकारीमा २२ हजार बचतकर्ताको करिब ६ अर्ब ३० करोड निक्षेप रहेको खुल्न आएको छ । प्रहरी परिसर ललितपुरमा २०८० चैत १ गते ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भई फरार रहेका उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभनवबाट खटिएको प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि आजै जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको आचार्यले बताउनुभयो ।