काठमाडौँ : यतिवेला मनसुन अत्यधिक सक्रिय रहेको छ । देशका विभिन्न भूगोलमा मनसुनी वर्षा र यसले पार्ने अन्य प्रभावको उच्च जोखिम रहेको छ । पछिल्लो समय मनसुनी वर्षाको बदलिँदो प्रवृत्तिका कारण खण्डित वर्षा हुने गरेको छ ।

जसले सानो क्षेत्रमा धेरै वर्षा हुँदा पहिरोको जोखिम बढाएको छ । पहिरोबाट कसरी जोगिने भन्ने बारेको जानकारीमुलक भिडियो सन्देश सोमवार राष्ट्रिय विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गर्यो ।
जसमा पहिरोविज्ञ शिवकुमार बास्कोटाले पहिरो जानु अघि देखा पर्ने संकेतका बारेमा विस्तृत जानकारी दिनु भएको छ ।
पहिरो जानु अघि जमिनमा चिरा पर्ने, जमिनमुनी कटकट आवाज आउने, पानीको मुहान सुक्ने, भएका मूलबाट धमिलो पानी आउने, भिरालो जमिनबाट ढुंगा माटो खस्ने, ठाडो खोल्सीहरुको बहाव रोकिने, घरका झ्याल ढोकाहरु एक्कासी बन्द गर्न खोल्न अप्ठेरो हुने, वस्ती तल रहेका नदीले कटानहरु तीव्र पारेको छ भने अब पहिरो जाँदैछ भनेर बुझ्नु पर्ने बास्कोटाले भिडियोमा बताउनु भएको छ ।
त्यस्तो अवस्थामा सुरक्षित स्थानमा गएर ज्यान जोगाउन सकिने र पहिरो केही हदसम्म रोकथामसमेत गर्न सकिने जानकारी पनि उहाँले त्यो भिडियोमा दिनु भएको छ । तीनघण्टाको अवधिमा त्यो भिडियो चार हजार जनाभन्दा बढीले हेरेर जानकारी लिएको देखिन्छ ।
यो मात्र हैन मनसुनजन्य विपत्को उच्च जोखिमको सूचना र सचेतना दिने माध्यमसँगै विपत्को अध्ययन गर्न चाहनेलाई इलर्निङको अवधारणालाई प्राधिकरणले अवलम्बन गरेकोे छ । कतै जोखिम बढ्यो वा विपत् आइपर्यो भने ति सामाग्रीबाट के गर्ने कसलाई सम्पर्क गर्ने भन्ने जानकारी दिन्छ । त्यतीमात्रै होइन पूर्व तयारी अपनाउने कुरा पनि सिकाएको छ ।
हालै सार्वजनिक भएको अपांगता समावेशी विपद जोखिम न्युनिकरण इलर्निङ पाठ्यक्रमले त्यस्ता व्यक्तिहरुका विषय कसरी काम गर्ने भन्ने कुरा पनि स्पष्ट पारेको छ । प्रविधिका माध्यामबाट जनमानसमा सूचना पुगोस् भनेर प्राधिकरणले प्रविधिको भरपुर उपयोग गर्ने प्रयास गरिरहेको प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “हातहातमा पुग्ने हाम्रा यी सूचनालाई ध्यान दिन सकियो भने जोखिम कम गर्न सकिन्छ, मानवीय क्षति पनि कम गर्न सकिन्छ, त्यही सूचनाका कारण सावधानी अपनाएर जोखिम घटाएको पनि छ ।”
आम नागरिकको जीउधनको रक्षा गर्ने सरकारको प्रमुख दायित्वलाई पूरा गर्न प्राधिकरणले डिजिटल मञ्चहरुलाई आफ्नो साध्य बनाएर अघि बढेको हो ।
मनसुनको समयमा चर्को गड्याङगुडुङसहित चट्याङ पर्ने क्रम पनि जारी छ । आम नागरिकलाई चट्याङबाट कसरी जोगिने भन्ने सचेतनामुलक भिडियो सन्देश बनाएर सामाजिक सञ्जालमार्फत हातहातमा पुर्याएको छ ।
बाढी पहिरोजन्य विपत् आउँदा कसरी र कहाँ सम्पर्क गर्ने भनेर दले दाईको अभिनयमार्फत आम जनतालाई सम्पर्क स्थानहरुको जानकारी हँस्याइलो पाराले दिइएको छ ।
बाढीसम्बन्धी जानकारी लिन ११५५ नम्बरको टोल फ्रि नम्बर, बाढीपहिरोले क्षति पुर्यायो र सहयोग चाहियो भने ११४९ को नम्बरमा फोन गरेर सहयोग लिन सकिने भनी प्रत्यक्ष जानकारी दिइएको छ ।
यतिमात्र हैन वर्षाकालमा तराईमा विषालु सर्पहरुको विजगविगी बढेको हुन्छ ।
सर्पको टोकाइबाट ज्यान गुमाउन नपरोस भन्नाको खातिर कसरी जोगिने भन्ने भिडियो सामग्री पनि प्राधिकरणले सार्वजनिक गरेको छ । हिउँदको शितलहर, सुख्खायामको डढेलो र आगलागिले निम्त्याउने विपत् र जोगिने उपायका सूचनाहरु सम्प्रेषण भइरहेको छ ।
देशमा आइपर्ने विविध खालका विपत्हरुको रोकथाम र न्यूनिकरणका लागि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले डिजिटल प्लेटफर्मको अधिकतम प्रयोग गरिरहेको प्राधिकरणका प्रवक्ता, उपसचिव डा डिजन भट्टराई बताउनुहुन्छ ।

चाहे त्यो विपत्को बारेमा सचेतनामुलक सूचना प्रवाह होस वा विपत्पछिको राहत तथा उद्धारकै विषय किन नहोस प्राधिकरणले दिनुपर्ने र गरिरहेका सबै कामको जानकारी डिजिटल माध्यमबाट आम जनमानसमा पुर्याउन कोशिश गरिरहेको उहाँले बताउनुभयोे ।
उहाँले भन्नुभएजस्तै प्राधिकरणको आफ्नो वेवसाइट, सामाजिक सञ्जालहरु फेसबुक, एक्स, युट्युब लगायतबाट बारबार प्राकृतिक तथा गैरप्राकृतिक विपत्सम्बन्धी जानकारीहरु आम नागरिकमाझ पुर्याइएको छ ।
असारे भाकामा हे मेरो हिरा, ज्यानको गाउँतिर बाढी र पहिरो कस्तो छ ? भन्ने बोलको गीतमार्फत बाढी र पहिरोसहितका विपत्को कथा बोलिएको छ ।
मनसुनको समयमा आइपर्ने खतराको संकेत गर्ने मौसमजन्य सूचनाको एकिकृत स्रोतका रुपमा विपत पोर्टललाई पनि साथै अघि बढाएको छ । यहाँ हेर्न सकिन्छ https://bipad.gov.np/np/
जहाँ पत्रकार तथा अन्य सरोकारवाला निकायले आफुले चाहेको सूचना सहजै एउटै माध्यमबाट लिन र उपयोग गर्न सकिने व्यवस्था मिलाइएको छ ।
यस अघि गएका विपत्को अध्ययन, अनुसन्धान, प्रतिवेदन रिपोर्टसँगै भइरहेका कार्यहरुको प्रत्यक्ष अपडेट दिने काम प्राधिकरणले डिजिटलका माध्यामबाट गरिरहेको छ ।
विश्व एक गाउँ बनेको अवस्थामा प्राधिकरणले आफ्ना हरेक गतिविधिलाई गृह मन्त्रालय, अर्थमन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटीलगायतका सरोकारवाला निकायसँग जोडेर सूचना एकिकृतरुपमा प्रवाह गरिरहेको प्राधिकरणले बताएको छ ।
त्यतिमात्र हैन विपत्का बारेमा औपचारिक शिक्षा लिन र दिन अनलाइन प्रणालीमार्फत इलर्निङको अभ्यास सुरु गरेको छ । जहाँ आमनागरिक स्वयंले छनोट गरेर विपत्को कक्षा लिन र परीक्षा दिएर पास गर्न सक्ने व्यवस्था मिलाइएको प्राधिकरणका वातावरण निरीक्षक रीना चौधरी बताउनुहुन्छ ।
नेपालको संविधानले लिएको समावेशी अवधारणा पछ्याउँदै फरक क्षमता भएकाहरुका लागिसमेत इलर्निङ शिक्षामा समावेश गर्ने नयाँ प्रविधिको प्रयोग प्राधिकरणले हालै थालेको छ । जसमा दृष्टिविहीन, बहिरा, अपाङ्गता भएका सबै नागरिकले आफैँ अध्ययन गर्न सक्ने गरी विद्युतीय पाठ्यक्रम बनाइएको प्रवक्ता डा. भट्टराई बताउनुहुन्छ ।
विपदका सन्दर्भमा दिइने पूर्वसूचना प्रणाली, विपदका बेला अपनाउने उपाय र विपदपछि गर्ने क्रियाकलापका विषयमा प्राधिकरणले अन्य कामका साथसार्थ प्रविधिलाई पनि सँगसँगै अघि बढाउँदै लगेको छ ।
जस कारण आम नागरिकमा सूचना प्राप्त गर्न सहज बनेको छ । यसलाई अझै गाउँ वडा तहसम्म पुर्याउन सके थप प्रभावकारी हुने विपद व्यवस्थापन विज्ञहरुको सुझाव छ ।