मनसुन जारी छ । यसपालिको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने आँकलन छ । सोही आँकलनका आधारमा राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले राष्ट्रिय प्रतिकार्य योजना नै तयारी पारी लागू गरेको जनाइएको छ । समन्वयात्मक रुपमा प्रभावकारी प्रतिकार्य गरी कम भन्दा कम क्षति पुगोस् भन्ने लक्ष्यका साथ काम भइरहेको प्राधिकरणले जनाएको छ । समग्र विपद, त्यसबाट उत्पन्न घटना र क्षति न्यूनीकरणका विषयमा समृद्धिखबरले प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईसँग कुराकानी गरेको छ । प्रस्तुत छ, उहाँसँग गरिएको कुराकानीको सम्पादित अंश :-
मनसुन जारी छ, विपद व्यवस्थापनको काम कसरी भइरहेको छ?
मनसुन सुरु भइसकेको छ । प्राधिकरणले प्रभावकारी प्रतिकार्य गर्नका लागि काम अघि बढाइएको छ । बाढी, पहिरोलगायतका घटनाबाट जोखिम न्यूनीकरणका लागि सरकारका सबै निकाय प्रभावकारीरुपमा क्रियाशील छन् । सुरक्षाकर्मी बढी खोज र उद्धारका काममा लाग्नुभएको छ । स्थानीय तहले जोखिमका क्षेत्र पहिचान गरेर तत्कालका लागि जोखिम क्षेत्रमा नबस्न अनुरोध गर्दै आएको छ । ठूलो वर्षा भएको ठाउँमा स्कुल तथा अन्य सार्वजनिक स्थलमा बस्न भनिसकेको छ । स्वयंसेवकसहितका समूह परिचालित छन् । भने राज्यका विपद व्यवस्थापनसँग सरोकार राख्ने टिम हाई अलर्टमा बसेका छन्।
मनसुन प्रवेश गरेको एक महिलना हुन लाग्यो, यो बीचमा केही ठूला घटना पनि देखिए, त्यसको व्यवस्थापन कस्तो रह्यो ?
विगतमा पनि बाढी, पहिरोले असर गरिरहेकै थियो । प्राकृतिक घटना रोकेर रोकिँदैन। हामी कमभन्दा कम क्षति होस् भनेर नै लागेका छौँ, यद्यपि केही क्षति भयो, तर सबै क्षेत्रका प्रतिनिधि सुरक्षाकर्मी, स्थानीय तह सबैले प्रभावकारी समन्वय गरेर काम भएको भएकाले अझै हुने ठूले क्षति रोक्न सकिएको महसुस भएको छ।
यसपटक प्रभावकारी समन्वय नहुँदा उद्धारका काम ढिला भयो भन्ने गुनासालाई न्यूनीकरण गर्न गृह मन्त्रालयको विपद तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुखकै संयोजकत्वमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको निर्माण गरेका छौँ। जसले प्रभावकारी समन्वयको काम गर्छ । यस्तै कुनै पनि जनधनको क्षति कम गर्न पालिका जिल्लामार्फत जोखिम क्षेत्रमा जानकारी गराउने काम भएको र उहाँहरुलाई सुरक्षित आश्रयस्थलमा बस्न अनुराध गरेका छौँ । उहाँहरु त्यही अनुसार बस्नुभएकाले पनि क्षति कम गर्न सफल भएको महसुस गरिएको छ ।
बढी वर्षा हुने आँकलनलाई ध्यान दिएर गरिने विपद व्यवस्थापनमा कसरी भइरहेको छ काम ?
सोही आँकलन अनुसार मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाएर लागू गरेका छौँ । सरदरभन्दा बढी वर्षा भए पनि सबैको समन्वय र प्रभावकारी प्रतिकार्यले जोखिम घटनाउन सहयोग गर्ने विश्वास लिएका छौँ ।
सबै निकायहरु उत्तिकै परिचालित भएर लागेका छौँ । सबैको प्रभावकारी समन्वय र प्रतिकार्यले हामी क्षति घटाउन सक्छौँ भन्नेमा प्रतिबद्ध छौँ ।
विपद व्यवस्थापनमा सूचना प्रवाह महत्वपूर्ण हो, कसरी काम भएको छ ?
पहिलो कुरा हामीले सरकारी संयन्त्र प्रदेश, जिल्ला पालिकाका संयन्त्र र जनस्वयंसेवकलाई प्रभावकारी परिचालन गर्नुपर्छ भनेर लागेका छौँ । उहाँहरुमार्फत सूचना प्रवाह गर्ने काम भएको छ। दोस्रो कुरा स्थानीय रेडियोहरुलाई पनि निरन्तररुपमा विपदका जानकारी गराउने, केन्द्रबाट पनि मिडियासँग समन्वय गरेर सोही अनुसार जानकारी गराउने, नदीको तटीय क्षेत्रमा बस्ने वासिन्दालाई जानकारी दिन पूर्वसूचना दिने, एसएसएसमार्फत सूचना दिने, कतिपय ठाउँमा साइरन जडान गरेर सूचनाहरु दिने गरिरहेका छौँ। साथै प्राधिकरणका फेसबुक पेज युट्युव, तथा विपद पोर्टलबाट पनि सन्देश सूचना प्रवाह गरिरहेका छौँ । रियल टाइमका सूचना पनि सँगसँगै दिइरहेका छौँ ।
कोही जोखिममा परिहाले भने के गर्ने?
कुनै घटना भइहाल्यो भने पहिले उहाँहरुले नजिकको प्रहरी वा प्रहरीको १०० मा फोन गर्ने, स्थानीय पालिका प्रमुख वा प्रमुख जिल्ला अधिकारीलाई फोन गर्ने, राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको ११४९ नम्बरमा फोन गरेर पनि जानकारी दिन सक्नुहुन्छ । कोही जोखिममा परिहाले भने स्थानीय विपद् व्यवस्थापन समिति र जिल्ला विपद व्यवस्थापन समिति क्रियाशिल छ । त्यहाँ जानकारी गराउनेवित्तिकै उहाँहरु राहत र उद्धारका काममा लाग्नुहुन्छ । उहाँहरुले आधारभूत आवश्यकता पूर्ति तथा अस्थायी आवास व्यवस्थापन गर्नुहुने छ ।
नागरिकका लागि यहाँको अनुराधे के छ ?
नागरिक सजक र सचेत हुनु नै पहिलो जोखिम न्यूनीकरणको महत्वपूर्ण उपाए हो । विपदको जोखिम बुझ्यौँ भने क्षति कम गर्न सक्छौँ। त्यसैले बाढी आउँदा जथाभावी प्रवेश गर्नु भएन ।
कुनै पनि ठाउँमा जमिन चिरा परेको छ भने तुरुन्तै बासस्थान परिवर्तन गर्ने, तत्कालै सम्भव नभए वर्षाका वेलामा अस्थायीरुपमा भए पनि वासस्थान परिवर्तन गर्ने, सम्भावित जोखिम हेरेर घर बनाउने, खोला किनारतिर नबस्ने, नजाने, धेरै भिरालो, माटोढुंगा खस्न लागेको जमिन छ भने त्यहाँ पानी परेका बेला बस्दै नबस्ने, चट्याङको जोखिमबाट बच्न पानी परेका बेला बाहिर ननिस्किने, ठूलो विजुलीका तार मुनी नबस्ने, छहारी रुख मुनी नबस्ने गर्दा पनि क्षति न्युनिकरण गर्न सकिन्छ ।
भिडियो अन्तर्वार्ता तल हेर्नुहोला