काठमाडौँ : नेपाल प्रहरीमा अहिलेसम्म सहकारी ठगीका ५ हजार ३०० उजुरी दर्ता भएको र उक्त ठगीमा ५ हजारभन्दा बढी पीडित रहेका पाइएको छ ।

सिंहदरबारमा आज भएको सहकारीको रकम अपचलनसम्बन्धी छानबिनका लागि बनेको संसदीय विशेष छानबिन समितिको १०औँ बैठकमा उक्त जानकारी गराइएको हो । सहकारी ठगीका विषयमा समितिले आज गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख एआइजी श्यामलाल ज्ञवालीलगायतसँग छलफल गरेको थियो ।
छलफलमा सुरक्षा अधिकारीबाट सहकारीसँग सम्बन्धित भएर अहिलेसम्म ५ हजार ३०० वटा उजुरी दर्ता भएको र दर्ताको क्रम जारी रहेको जानकारी प्राप्त भएको समितिका संयोजक सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार उजुरीमध्ये अहिलेसम्म ९८ वटा उजुरीमा अनुसन्धान सकेर मुद्दा दर्ता भएको छ । छलफलमा उहाँहरुले सहकारीबाट ५५ हजार ४१० पीडितले ठगिएको भनेर उजुरी दर्ता गरेको पनि बैठकमा जानकारी गराउनुभएको संयोजक थापाले बताउनुभयो ।
ती उजुरीमा एक हजार १५० जना प्रतिबादी रहेको जनाइएको छ । २९४ जना पक्राउ परेका छन् भने अन्य फरार रहेका छन् ।
समितिले आफ्नो कार्यादेशका आधारमा २९ वटा प्रश्नमा केन्द्रीत रहेर जानकारी मागेको थियो । छलफलमा उहाँहरुले समितिसमक्ष उजुरीको, छानबिन भएको, पक्राउ परेका र फरार रहेका मुद्दाको समग्र स्थितिका बारमा पनि जानकारी गराउनु भनिएको थियो ।
सो क्रममा सुरक्षा अधिकारीहरुले बढी ठगीका विषय रहेको र जसमा ११ अर्ब, ६६ करोड ४७ लाख बिगो बराबरको ठगी परेको भनेर उजुरी दर्ता भएको जानकारी गराउनुभएको थियो । छलफलमा सुरक्षा अधिकारीहरुले आर्थिक अपराध नियन्त्रण ब्यूरोको आवश्यकता रहेको बताउनुभएको जनाइएको छ ।