काठमाडौँ : चालकले लागुऔषध खाएर चलाउँदा काठमाडौँमा एउटा कार दुर्घटनामा परेको छ ।

काठमाडौँको कुलेश्वस्थित सार्वजनिक सडकखण्डमा कालिमाटीदेखि कुलेश्वरतर्फ जाँदै गरेको कारका चालकले लागुऔषध खाएर गाडी चलाउँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले चालक भुपेन्द्र श्रेष्ठले लापरबाहीपूर्वक चलाएको बा ११ च ५९१६ नम्बरको कारले विपरित लेनको सडकपेटीमा हिँड्दै गरेका तीन जना घाइते भएका जानकारी दिनुभयो ।
उक्त दुर्घटनामा भारतको मोतिहारी घर भई हाल काठमाडौँको डल्लु बस्ने वर्ष १८ का प्रियन्सु कुमार, कुलेश्वर बस्ने वर्ष २५ का भोला कुमार, सोही ठाउँ बस्ने वर्ष १९ का श्यामबाबु ठाकुर घाइते भएका प्रहरीले जनाएको छ ।
घाइते तीनै जनाको अहिले बल्खुस्थित बयोधा अस्पताल उपचार भइरहेको छ । गएराती भएको उक्त दुर्घटनापछि खोजतलासका क्रममा सवारी चालक बल्खु निवासी भुपेन्द्र श्रेष्ठलाई समेत सोही अस्पताल परिसरमा फेला पारी पक्राउ गरिएको छ ।
उनको कारमा लागुऔषध नाइट्राभेट भेटिएको प्रहरीले जनाएको छ । एक पत्तामा अरु खाएर तीन चक्की लागूऔषधजन्य पदार्थ बाँकी रहेको भेटिएको थियो ।
उनीमाथि आज सवारी अङ्गभङ्गसम्बन्धी कसूर मुद्दामा प्रहरी वृत्त कालिमाटीबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
श्रेष्ठको स्वास्थ्य परीक्षण गर्दा उनले लागूऔषध सेवन गरेको पाइएको र उनले नशाको तालमा विपरित लेनमा गइ पैदल हिँडिरहेका तीनजनालाई ठक्कर दिएको पाइएको पनि उहाँले बताउनुभयो ।