काठमाडौँ : मनसुनी वर्षाका कारण आएको बाढीपहिरो लगायत विपद्मा परेर गएको जेठ २८ गतेयता मृत्यु हुने १३३ जना पुगेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार सो अवधिमा १४५ जना घाइते भएका छन् भने सिमलताल घटना बाहेक ७ जना बेपत्ता रहेका छन् ।
प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँ उपत्यकामा २, कोशी प्रदेशमा २२, मधेश प्रदेशमा ६, बागमती प्रदेशमा २५, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको बताउनुभयो ।
उहाँका अनुसार काठमाडौँ उपत्यकामा ९, कोशी प्रदेशमा ३४, मधेश प्रदेशमा ९, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा ९, कर्णाली प्रदेशमा ३४ र सुदूरपश्चिम प्रदेशमा १४ गरी १४५ जना घाइते भएका छन् ।
काठमाडौँ उपत्यकामा १, कोशी प्रदेशमा ४९, गण्डकी प्रदेशमा १२ र सुदूरपश्चिम प्रदेशमा ५ गरी ६७ जनाको उद्धार गरिएको छ । बाढीपहिरोमा परी ७ जना बेपत्ता रहेको जनाइएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार १८ परिवार विस्थापित भएका छन् ।