काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ।

मिर्गौला रोगबाट पीडित नकर्मीको गएराति वीर अस्पतालमा उपचारका क्रममा निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिनुभयो ।
उहाँले प्रमुख नकर्मीको निधनमा आज नगरपालिकामा शोक बिदा दिइएको जानकारी दिनुभयो । उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि केही घण्टा नगरपालिकामा राखिने र आजै अन्त्येष्टि गरिने जानकारी दिनुभयो ।
नगरपालिकाले आज एक सूचना जारी गरी नगरप्रमुख नकर्मीको निधनले नगरपालिका परिवार मर्माहत भएको जनाउँदै शोकमा आज नगरपालिका क्षेत्रभित्र शोक विदा दिइएको उल्लेख गरेको छ ।