चितवन । चितवनको कालिका नगरपालिका पूर्ण खोप सुनिश्चित र दीगोपना भएको नगर बनेको छ । नगरपालिकालाई आज १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिना उमेरभित्र पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको छ।

खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको आज घोषणा गरिएको हो ।
खोप समन्वय समितका संयोजक तथा कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीले सबैको प्रयासबाट नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर बनाउन सकिएको बताउनुभयो ।
उहाँले हरेक वडामा रहेका बालबालिकाको खोजी गरी खोपको पहुँचमा ल्याइएको बताउँदै अब खोपको पहुँचभन्दा बाहिर कोही पनि बालबालिका नरहेको बताउनुभयो ।
पालिकाको १ देखि ११ वटै वडामा घरधुरी सर्वेक्षण गरी १५ महिना मुनिका, १६ महिनादेखि २३ महिनासम्मका १ हजार ७ सय ७४ जना बालबालिकाले पाउनुपर्ने सबै पूर्ण खोप पाएको सुनिश्चित भएको कालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारीले जानकारी दिए।
जिल्ला खोप समन्वय समिति चितवनले गत असार महिनामा कालिका नगरपालिकालाई पूर्ण खोप पालिका घोषणा गर्न अनुमति प्रदान गरेको थियो। स्वास्थ्य संस्थाको टोली सबै खोपकेन्द्रमा पुगेर बालबालिकालाई पूर्ण खोप लगाए, नलगाएको सुनिश्चित गरेपछि घोषणा गरिएको छ ।
कार्यक्रममा उपप्रमुख विमला तामाङ, प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतम, जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेति लगाएतले नगर पूर्ण खोप घोषणा भएकोमा धन्यवाद दिए।


