काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले ‘काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४’ मा सहभागी भएका नेपाल एपीएफ क्लबका तीन जना महिला भलिबल खेलाडीहरुलाई आज सम्मान गरेको छ ।

सशस्त्र प्रहरीको प्रधान कार्यालय हलचोक काठमाडौँमा आज आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्मान उहाँहरुलाई सम्मान प्रदान गर्नुभएको हो ।
सम्मानित हुनेहरुमा सशस्त्र प्रहरी सहायक हवल्दार सरस्वती चौधरी, निरुता ठगुन्ना र सशस्त्र प्रहरी जवान कविता भट्ट रहेका छन् ।
महानिरीक्षक अर्यालले लामो समयदेखि नेपाल एपीएफ क्लबमा आबद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताहरुमा सहभागी भई उत्कृष्ट खेल प्रदर्शन गरेर देश र संगठनको छवी उच्च राख्न खेलेको योगदानको कदर गर्दै उनीहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको बताउनुभयो ।
उक्त लिग यही साउन १७ देखि २३ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सम्पन्न भएको थियो ।
उक्त लिग तथा अन्य भलिबल प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गर्दै आएकी खेलाडी निरुता ठगुन्नालाई सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा गरिएको छ ।
बढुवा भएकी ठगुन्नालाई सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक रमेशकुमार पाण्डेले आजै दज्र्यानी चिह्न पनि प्रदान गर्नुभयो ।



यसअघि २२औँ सशस्त्र प्रहरी दिवस–२०७९को अवसरमा सरस्वती चौधरीलाई सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हवल्दार पदमा पदोन्नति गरिएको थियो।