माधवपुर (चितवन) : चितवनको रत्ननगर नगरपालिका-१५ का वडाध्यक्ष आसिक तामाङ कुनै दिन भाले र पोषणतत्वयुक्त खानेकुरा बोकेर सुत्केरीका घरघरमा पुग्नुहुन्छ। कुनै वेला असहाय र बेसहाराको सहारा बनेर उभिनुहुन्छ । असक्तहरू फेला परे आफैँ बोकेर उपचारका लागि अस्पतला पुर्याउनुहुन्छ । आफ्नो वडाका नागरिकका समस्या समाधानमा पनि उहाँ खटिनुहुन्छ ।
कामकाजी बाहेक अन्य समयमा वडा कार्यालयमै भेटिने वडाध्यक्ष तामाङलाई वडावासीहरू शालिन, भद्र र सहयोगी जनप्रतिनिधिका रुपमा सम्झने गरेको बताउँछन् ।
वडाको विकासमा मात्रै चिन्तित रहने अध्यक्ष तामाङले यसपाली चितवनका पालिका र नजप्रतिनिधिहरूलाई नै पाठ सिकाउने गरी युवाहरूलाई शिक्षक र सरकारी जागिरे बनाउने उद्देश्य बोकेर तयारी कक्षाको अभियान थाल्नुभएको छ ।
अघिल्लो वर्षदेखि नै अभियान सुरु भएकामा यसपालि भने लोकसेवा र शिक्षक सेवा आयोगको तयारी कक्षामा आकर्षण थपिएको छ। आजबाट पुनः वडानम्बर १५ मा लोकसेवा र शिक्षक सेवा आयोगको तयारी कक्षा सुरु गरेर उहाँले वडाका युवाहरूलाई उर्जा भर्ने काम गर्नुभएको छ ।
६० दिने उक्त लोकसेवा र शिक्षक सेवा आयोग तयारी कक्षामार्फत युवाहरूलाई रोजगार बनाउनु र ती युवामार्फत वडाको विकास गर्नु रहेको अध्यक्ष तामाङले बताउनुभयो ।
आज उदघाटन समारोहमा बोल्दै उहाँले ती युवाको वौद्धिकतालाई प्रयोग गर्न पायौँ भने वडाले फड्को मार्ने सुनाउनुभयो ।
“तपाइँहरूले राम्रोसँग पढ्नु भयो र जागिरमा नाम निकाल्नुभयो भने, गाउँको समस्या लिएर म तपाइँको टेवलसम्म आउने छु, यो वडालाई समृद्ध बनाउन, योजना निर्माणमा यहाँहरूको पनि योगदान होस् र हामीले अनुरोध गर्न पाइयोस् भनेर अहिले हामी तपाइँहरूलाई सहयोग गरिरहेका छौँ”, वडाध्यक्ष तामाङले भन्नुभयो ।
सहभागी प्रशिक्षार्थीहरूमाझ उहाँले सिंगो देशलाई नै हाँक्ने प्रशासक भएको देख्ने आफ्नो इच्छा रहेको पनि सुनाउनुभयो ।
अध्यक्ष तामाङले थप्नुभयो, “गाउँमा शिक्षक चाहियो भनेर विज्ञापन गर्दा ४, ५ जनाभन्दा धेरैले निवेदन दिँदैनन् । निवेदन दिएकाहरू पनि सफल भइरहेका छैनन् । त्यसैले हामीले साँच्चै नै शिक्षक सेवा र लोकसेवाको परीक्षाको कसरी सामना गर्ने? कसरी दिने? भन्ने कुरामा पनि समस्या भएकाले गएकै सालबाट कक्षा सुरु गरिएको हो । उहाँहरू यहाँ आउनुभएको छैन, पक्कै प्रगति भएकै होला ।”
आफ्नो कार्यकाल रहँदासम्म कक्षा जारी रहने जानकारी दिँदै उहाँले आफ्नो कार्यकाल सकिएपछि पनि सञ्चालन गर्न पहल गर्ने बताउनुभयो । यो कक्षामा सहभागी भएको मान्छे कहीँ हाजीर गरेको देख्न पाइयोस्, भन्ने चाहना व्यक्त गर्दै अध्यक्ष तामाङले भन्नुभयो, “हरेक कुरामा हामी सहयोग गछौँ, मात्र तपाइँहरूले राम्ररी पढिदिनुपर्यो र नाम निकाल्नुपर्यो।
उहाँले किताब कापी पनि दिएको र अन्य विविध स्रोतहरु अध्ययन गर्नुपर्ने अवस्थामा वडामा निवेदन दिए वडाले सहयोग गर्ने पनि जानकारी गराउनुभयो ।
“काठमाडौँ, हेटौँडा जहाँ परीक्षा हुन्छ, त्यहाँ जानेआउने जिम्मा वा बासको व्यवस्था गर्न पनि हामी तयार छौँ, तर तपाइँहरू आइदिनुपर्यो, पढ्दिनुपर्यो, र नाम निस्कियो भने अरु केही गर्नु पर्दैन लोक सेवा कक्षा सञ्चालन हुन्छ भनेर अरुलाई जानकारी दिनुहोला ।”
उहाँले जागिर पाएपछि इमान्दार भएर उत्कृष्ट काम गर्न सुझाव पनि दिनुभयो । नेता, मेयर , वडाध्यक्षको सिफारिसले जागिर पाइन्छ भन्ने भ्रम चिर्न पनि यसरी कक्षा सञ्चालन गरिरहेको जानकारी दिँदै उहाँले यही कक्षा चलाउँदा पनि आफूहरूलाई विभिन्न लाञ्छना लगाएको समेत सुनाउनुभयो ।
तस्वीरहरू : न्युज रत्ननगर