काठमाडौँ, ४ माघ : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) नक्सालमा आजदेखि विदेशी कलाकारहरुको समेत सहभाथितामा अन्तरराष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँ, बिन्दु स्पेश फर आर्टिष्ट र काठमाडौँ ट्रिएनालेको संयुक्त आयोजनामा नेपालसहित अमेरिका, आयरल्याण्ड, डेनमार्कका कलाकारहरुको सहभागितामा अन्तरराष्ट्रिय कला प्रदर्शनी सुरु भएको हो ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उक्त प्रदर्शनी उद्घाटन गर्दै कला विश्वभाषा भएको र यसलाई बुझ्न र बुझाउन यस्ता खाले प्रदर्शनी महत्त्वपूर्ण हुने बताउनुभयो ।
उहाँले प्रदर्शनीलाई संस्कृति, ज्ञान, सीप आदानप्रदानसँग जोड्दै कलाकारहरूले विश्व मानवहितका लागि काम गर्नुपर्ने धारणा राख्नुभयो ।
समारोहमा प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धरले यस्ता प्रदर्शनी गर्न प्रतिष्ठानले लिएको अग्रसरताप्रति खुसी व्यक्त गर्दै यस प्रदर्शनीमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले पोखरामा गरिएको प्रदर्शनीले सबैलाई उत्साहित बनाएको र काठमाडौँमा गरिएको यस प्रदर्शनी अझ महत्त्वपूर्ण भएको धारणा राख्नुभयो ।
आयरल्यान्डका कलाकार लोरा मर्फीले यस प्रदर्शनीका लागि नेपाल ललितकला प्रतिष्ठानप्रति आभार व्यक्त गर्नुभयो । उहाँले यस्ता प्रदर्शनीले कलाकारहरूलाई फरक देशको कला, भाषा, संस्कृति बुझ्नलाई थप सहयोग पु¥याउने बताउनुभयो ।



प्रदर्शनीमा नेपाली ६५ कलाकारका ६५ तथा अमेरिकाका २२, डेनमार्क २, आयरल्याण्डका २ गरी २६ जना कलाकारका १७ गरी ८२ कलाकृति राखिएका छन्।
प्रदर्शनीमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, पूर्वकुलपति केके कर्माचार्य, पूर्वकुलपति किरण मानन्धर, हालका उपकुलपति लालकाजी लामा, सदस्यसचिव देवेन्द्रकुमार काफ्ले लगायतका कलाकृतिहरु पनि समावेश छ ।
प्रदर्शनी यही माघ ६ गतेसम्म चल्ने प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले जानकारी दिनुभयो । पोखरामा बनाइएका कलाकृतिहरु समेत यहाँको प्रदर्शनीमा समावेश भएको छ ।