चितवन : चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित उपरदाङगढी परिसरमा कोतघर पुनर्निर्माण गर्न थालिएको छ ।

गढीको भौतिक संरचना पुनर्निर्माणअन्तर्गत भग्नावशेष अवस्थामा किल्लाभित्रको कोतघर पुनर्निर्माण गर्न लागिएको हो । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले सोमवार कोतघर पुनर्निर्माणको शिलान्यास गरेका छन्। एक करोड ३४ लाख ५० हजार लागतमा ठेक्का सम्झौता भई निर्माण शुरु गरिएको अध्यक्ष गुरुङले जानकारी दिए।
निर्माण कम्पनीसँग २०८२ जेठ १५ गतेभित्र निर्माण सक्ने गरी सम्झौता भएको हो। पुरातत्त्व विभागको मापदण्डअनुसार पुरानै संरचनामा कोतघर पुनर्निर्माण गरिने अध्यक्ष गुरुङले बताए।
उनले भने, ‘पुरातत्त्व विभागको समन्वयमा पुरानै संरचनाअनुसार भग्नावशेष अवस्थामा रहेको कोतघरको पुनर्निर्माण शुरु गरेका हौँ।’ उनका अनुसार उपरदाङगढीमा पुरानो संरचनालाई असर नपुग्ने गरी यसअघि गोलघर, टिकट काउन्टर, वनभोजस्थल, प्रवेशद्वारको ढोका मर्मत, काठेपुल निर्माण, प्रतीक्षालय, शौचालय र खानेपानीका लागि धारा निर्माण गरी विद्युत् जडान गरिएको छ।
कोतघर निर्माणसँगै गाउँपालिकाले नेपाली सेनासँग समन्वय गरी उपरदाङढीमा तोपसहित पुराना हाततियार राखिनेछ। साथै ढुङ्गेधारा, ढुङ्गाको सिँढीबाटो समेत निर्माण गरिने योजना रहेको अध्यक्ष गुरुङले बताए। यहाँ कोतघर निर्माणसँगै तोपसहित पुराना हातहतियार राखेपछि पर्यटकको आवागमन बढ्ने र गाउँपालिकाको आम्दानीको स्रोत बन्ने बताए।
अहिले उपरदाङगढी घुम्न आउने पर्यटकबाट वार्षिक सातदेखि आठ लाखसम्म टिकट शुल्कबाट आम्दानी हुँदै आएको उनले बताए। तत्कालीन समयमा उपरदाङगढी चितवनको सदरमुकाम थियो।
इतिहासमा उल्लेख भएअनुसार तल्कालीन बाइसेचौबीसे राज्य एकीकरणका साथै नेपाली भूमिको रक्षाका लागि अङ्ग्रेज फौजविरुद्ध युद्धका वेला १८५७ मा पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले उक्त गढी निर्माण गरेका थिए।


