काठमार्डौँ, २६ माघ : विश्वका सातैवटा महादेशका सात अग्ला हिमाल आरोहण गर्ने अभियान थालेका नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले दक्षिण अमेरिकी महादेशको सबैभन्दा अग्लो शिखरको सफल आरोहण गर्नुभएको छ ।

अर्जेन्टिनास्थित माउण्ट अकोन्कागुआको बिहीवार यही फेब्रुअरी ६ तारिखमा सफलतापूर्वक आरोहण गरेको उहाँले आज जानकारी दिनुभयो । आरोहणपछि त्यहाँको देशबाट उहाँले आरोहण गरेको प्रमाणपत्रसमेत प्राप्त गरिसक्नुभएको छ ।
आरोही पाण्डेले अकोन्कागुआको शिखरमा स्थानीय समय अनुसार बिहान ७ः५० बजे चन्द्रसूर्य अंकित नेपाली राष्ट्रिय झण्डा फहराएका थिए । उक्त चुचुरो ६ हजार ९६१ मिटर अग्लो हो । उहाँले आउँदो बुधबारसम्ममा नेपाल आइपुग्ने पनि भिडियो कुराकानीमा बताउनुभयो ।
सातै महादेशका उच्च शिखरहरुको आरोहण गर्ने अभियानअन्तर्गत पाण्डे प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रिय झण्डा लिई जनवरी २१ मा अर्जेन्टिनाको ब्युनस आयर्सतर्फ प्रस्थान गर्नुभएको थियो ।
पर्वतारोहणको क्षेत्रमा विशेष मानिने सेभन समिट अभियानमा उहाँको यो चौथो हिमाल आरोहण हो भने समग्रमा उहाँको यो ११औँ आरोहण भएको पनि उहाँले जानकारी दिनुभयो ।
उहाँ सन् २०२२ देखि यस अभियानमा हुनुहुन्छ । यस अभियानमा उहाँसँग कीर्तिमानी पर्वतारोही चतुर तामाङ्ग पनि हुनुहुन्छ ।
आरोही पाण्डेले यसअघि आरोही तामाङ्गसँगै रुसमा रहेको सर्वोच्च युरोपेली हिमाल माउण्ट एलब्रुस चढ्नुभएको थियो । पाण्डेले तान्जानियामा रहेको अफ्रिकी महादेशको उच्च हिमशिखर किलिमन्जरोको पनि सफल आरोहण गरिसक्नुभएको छ ।
उहाँले स्वदेशमै रहेको किलर माउन्टेन भनिने मनास्लु हिमाल र टेक्निकल मानिएको आमादब्लम हिमालको पनि सफल आरोहण गरिसक्नुभएको छ ।
उचाई धेरै नभए पनि यो आरोहण निकै चुनौतीपूर्ण रहेको बताउँदै आरोही पाण्डेले उक्त क्षेत्रमा छिटोछिटो परिवर्तन भइरहने मौसमका कारण आरोहण सगरमाथा चढे जतिकै कठिन महसुस गरिएको जानकारी दिनुभयो ।
नेपाली झण्डासँगै नेपाल स्काउट र रोटरी इन्टरनेशनल समेतका सामाजिक संस्थाहरुको झण्डा पनि ती संस्थाहरुको प्रतिनिधित्व गर्दै आफूले फहराउन पाउँदा खुसी लागेको उहाँले बताउनुभयो ।
हिमाल आरोहण अभियानकै क्रममा जलवायु परिवर्तनको मुद्दा पनि उठाउने बताउँदै आरोपी पाण्डेले स्थानीय सरोकारवालाहरुसँग अन्तरक्रिया पनि गरेको जानकारी दिनुभयो ।
जलवायु परिवर्तनका कारणले नेपालसहित जैविक विविधिता युक्त तथा विशिष्ट भौगोलिक अवस्थिति भएका मुलुकले अनपेक्षित क्षति र समस्याहरु व्यहोर्नु परिरहेको उहाँले बताउनुभयो ।
आफ्नो आरोहण भ्रमणले नेपाल र अर्जेन्टिनाबीच दौत्य सम्बन्धमा टेवा पुग्ने र साहसिक पर्यटनको क्षेत्रमा नेपाललाई दक्षिण अमेरिकी महादेशमा थप परिचित गराउने आफूले विश्वास लिएको पनि उहाँले बताउनुभयो ।
सेभेन समिट अभियानमा अब उत्तर अमेरिकी महादेशको हिमाल आरोहण गर्ने लक्ष्य रहेको बताउँदै उहाँले भन्नुभयो, “संयुक्त राज्य अमेरिकामा रहेको डेनाली हिमालको आरोहण मेरो लक्ष्य हो ।”
सन् २०१८ मा पहिलोपटक सगरमाथा चढ्नुभएका पाण्डेले क्रमशः अन्य महादेश तथा क्षेत्रका हिमालहरु आरोहण गर्दै नेपालमै आएर सगरमाथामा सेभेन समिट अभियानको समापन गर्ने योजना रहेको पनि जानकारी दिनुभयो ।