काठमाडौँ, २६ वैशाख : वैदेशिक रोजगारीका लोभमा पीडितसँग लाखौँ ठगी गर्ने २ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पक्राउ गरेको छ ।

पीडितबाट ८ लाखभन्दा बढी ठगी गरेको जाहेरीका आधारमा उनीहरुलाई दुई फरकफरक स्थानबाट पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।
यसरी पक्राउ पर्नेमा काठमाडौँका सुदीपमान सिंह बस्नेत र काभ्रे घर भइ भक्तपुर बस्ने गुमान सिंह तामाङ रहेका उहाँले बताउनुभयो ।
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि क्यानडा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्कविहीन भएका बस्नेतलाई आजै प्रहरीले ललितपुरको भैंसेपाटीबाट र क्रोएसिया लैजाने भन्दै रकम ठगी गर्ने तामाङलाई काठमाडौँ महानगरपालिका ५ बाट पक्राउ गरिएको हो ।
पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने गरेको खुलेपछि उनीहरुलाई पक्राउ गरी आजै अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको पनि आचार्यले जानकारी दिनुभयो ।
आरोपी बस्नेतले क्यानडा पठाउने भन्दै पीडितबाट ६ लाख ठगी गरेको र तामाङले क्रोएसिया पठाउने भन्दै एक लाख ७५ हजार ठगी गरेको जाहेरीमा उल्लेख छ ।
प्रवक्ता आचार्यका अनुसार बस्नेत यसअघि प्रमोद गुरुङको जाहेरीले सात लाख बिगो रहेको बैंकिङ कसुर मुद्दामा फरार आरोपी समेत रहेका खुलेको छ ।