काठमाडौँ : राजस्व अनुसन्धान विभागले राजस्व चुहावटसम्बन्धी कसूरमा अनुसन्धान तथा तहकिकात सम्पन्न गरी ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवविरुद्ध उच्च अदालत पाटनमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २० (६) बमोजिम मुद्दा दायर गरेको छ ।

उनीमाथि एक अर्ब २० करोड राजस्व उठाउनुपर्ने मागदावीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागका प्रवक्ता उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिका वडा नं ३१ नयाँ वानेश्वरस्थित ठेका पट्टा, कन्सल्टेन्सी सेवा तथा कन्स्ट्रक्सन सामान खरिद बिक्री कारोवार गर्ने ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवले वस्तु तथा सेवाको हस्तान्तरण नगरी बिल वीजक मात्र जारी गरेको, खरिद कारोबारको भुक्तानी बैङ्कमार्फत नगरेको, बीजकहरु सिलसिलेवार जारी नगरेको, मूल्य अभिवृद्धिकर विवरण र आय विवरण दाखिला नगरेको, मू.अ. कर तथा आयकर तर्फ झुट्टा विवरण पेश गरेको, मालसामान खरिदको स्रोत पुष्टि नभएको तथा नेपाल सरकारलाई नियमानुसार तिर्नु बुझाउनुपर्ने मू.अ.कर तथा आयकर लगायतका राजस्व नतिरेको विभागको दावी छ ।
राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ विपरित कार्य गरी सोही ऐनको दफा ४ बमोजिमको कसूर गरेको पुष्टि भएकाले प्रतिवादी ध्रुव देवलाई सोही ऐनको को दफा २ (छ १) बमोजिम मूल्य अभिवृद्धि करतर्फ रु ४५ करोड ८० लाख ८३ अजार ४३४ र आयकरतर्फ रु १४ करोड ६५ लाख ३१ हजार ८२४ गरी जम्मा रु ६० करोड, ४६ लाख १५ हजार २५८ रुपैयाँ विगो कायम गरी मुद्दा दर्ता गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार सोही ऐनको दफा २३ को उपदफा (१) बमोजिम बिगो असुल तथा बिगोको शतप्रतिशत जरिवाना गरी १ अर्ब २० करोड ९२ लाख ३० अजार ५१६ रुपैयाँ असुलउपर गर्न तथा ऐनको दफा २३ को उपदफा (१)(घ) बमोजिम कैद सजायको मागदावी लिई उच्च अदालत पाटनमा अभियोगपत्र दायर गरिएको छ।