काठमाडौं, २९ वैशाख : काठमाडौँको सुन्धारामा दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किएर आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा अन्य २ जना घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो ।
काडमाडौँ महानगरपालिका–२२ स्थित काठमाडौँ मल अगाडि बा.३४ प ४३२० नम्बरको मोटरसाइकल र रा.७ प ८७९५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आज भएको दुर्घटनामा बा.३४ प ४३२० नम्बरको मोटरसाइकल चालक ललितपुर इमाडोल बस्ने तनहुँ आँबुखैरेनीका ४६ वर्षीय सन्तोषकुमार गुरूङको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
साथै दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार १ जना र रा.७ प ८७९५ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच काठमाडौँको शंखरापुर नगरपालिका–७ साँखु बस्ने ७८ वर्षीया दयालक्ष्मी शर्माको घरबाट करिब ५ तोला बराबरको सुनका विभिन्न गरगहना र नगद ३ लाख रूपैयाँ गरी करिब रु १२ लाख रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
चोरीमा संलग्न भएकाहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।