काठमाडौँ, ३० वैशाख : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत २७ जनामाथि अनुसन्धान गर्न प्रहरीले आज थप ५ दिनको म्याद पाएको छ ।

जिल्ला प्रहरी पसिसर काडमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले उनीहरुलाई आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा अदालतले थप अनुसन्धानका लागि आज ५ दिनको समय दिएको जानकारी दिनुभयो ।
उनीहरुविरुद्ध राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेको छ । चैत १५ को तीनकुने घटनामा अनुसन्धानका लागि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
यसअघि वैशाख २५ गते पनि काठमाडौँ जिल्ला अदालतले अनुसन्धानका लागि ५ दिनकै म्याद दिएको थियो ।
गएको चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक हुँदा पत्रकारसहित २ जनाको ज्यान गएको थियो भने दर्जनौँ घाइते भएका थिए ।
सरकारीलगायत निजी संरचनामा आगजनी र तोडफोडसमेत भएको थियो । भाटभटेनीमा लुटपाट पनि गरिएको थियो ।
सोही घटनामा सङ्गठित अपराध र आपराधिक उपद्रव कसुरमा अन्य २७ जनामाथि पनि अनुसन्धान भइरहेको छ । हाल प्रहरी हिरासतमा ५४ जना रहेका बोहराले जानकारी दिनुभयो ।
त्यसबाहेकका अन्य आरोपीमध्ये केही स्वास्थ्यलगायत कारण हाजीर जमानीमा छाडिएका छन् ।